Tuesday, October 26, 2010

उनलाई डा. केपी ओली नै भन्ने रे !

एमाले नेता केपी ओलीले नक्कली युनिभर्सिटीका रुपमा बदनाम भएको विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले दिएको मानार्थ विद्यावारिधी फिर्ता नगर्ने भएका छन्। हाल अमेरिका भ्रमणमा रहेका ओलीलाई एउटा कार्यक्रममा मैले यस सम्बन्धमा प्रश्‍न सोध्दा उनले खुलेर नै भने- मैले कागजपत्र पढेर, बुझेरै मानार्थ विद्यावारिधी लिएको हुँ। यसलाई फिर्ता गर्दिनँ।

उनले विद्यावारिधी गर्ने व्यक्ति केपी ओली भएकोले मात्र विवाद गरिएको हो, किनकि नेपाल विवाद नै विवादको पोको हो भन्न पनि छुटाएनन्।

कम्पनी लिमिटेडका रुपमा दर्ता भएको सो युनिभर्सिटी नक्कली रहेको सार्वजनिक भएपछि विद्यावारिधी पाएका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र कान्तिपुरका निर्देशक रामेश्वर थापाले उक्त सम्मान फिर्ता गरेको घोषणा गरेका थिए। सो युनिभर्सिटीको वेबसाइटसमेत अहिले बन्द छ। तर आफूले विद्यावारिधी प्राप्त गरेको युनिभर्सिटीको बचाउ गर्दै उनले भने- नेपालका धेरै व्यक्ति यो युनिभर्सिटीका सल्लाहकार छन्।

त्यसो भए के अब तपाईँलाई डाक्टर केपी ओली भन्न सकिन्छ त भन्ने प्रश्‍नमा उनको उत्तर थियो- यो मानार्थ विद्यावारिधी दिने युनिभर्सिटी सबै साँचो छ भने मेरो विद्यावारिधी कहाँ नक्कली हो र !

ओली झन्डै महिना लामो भ्रमणको क्रममा न्युयोर्कमा छन्। न्युयोर्कमा नेकपा एमालेका कार्यकर्ताहरु मिलेर सञ्चालन गरिएको UNITED NEPALESE DEMOCRATIC FORUM नामक संस्था सक्रिय छ र UNDF ले बेला-बेलामा रक्तदान लगायत विविध क्रियाकलाप न्युयोर्कमा गर्दै आएको छ। त्यसबाहेक नेपालबाट आफ्नो माऊ पार्टीका नेताहरु अमेरिका आउँदा स्वागत सत्कार गर्ने र विभिन्न प्रकारका राजनीतिक क्रियाकलाप, भेटघाट आदि आयोजना गर्ने मात्र होइन, आम चुनावको समयमा अमेरिकाबाट एमालेलाई आर्थिक सहयोगसम्म पनि यसले गर्दै आएको छ। यस्तै क्रियाकलाप अन्तर्गत अक्टोबर २१ को साँझ न्यूयोर्कको सगरमाथा रेस्टुराँको सभा हलमा केपी ओलीसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

अन्तर्क्रिया अवधिभर ओलीले अधिकांश समय गौतम बुद्ध र सगरमाथाको चुचुरोको बयान गर्दै कुनै गुरुले आफ्ना स-साना चेलाहरुलाई पुरानो ढंगबाट नेपाल भन्ने विषयमा निबन्ध पढाए झैँ गरी अत्यन्त हलुका ढंगबाट प्रस्तुत भएका थिए। नेपालको वर्तमान राजनीतिलाई एउटा फूटबल खेल भएको र उक्त खेलमा जनताहरु दर्शक भएको बताउँदै कुनै नेता गोल्किपर, कुनै नेता ब्याककिपर त कुनै नेता मिडफिल्डर त कोही डिफेन्डर भएको र आफू स्वयम् चाहिँ लाइन्सम्यान भएको बताउँदै हास्यात्मक पारामा जवाफ दिएपछि केही हल्लासमेत भएको थियो। नेपालको राजनीतिमा के भएको हो थाहा पाउन चाहिँ आफूले पनि झलनाथलाई नै सोध्नुपर्ने उनले बताए।